एमाले नेता तामाङको जवाफ : ‘मन्त्री दोषी भए कारबाही हुन्छ, कसैको संरक्षण हुँदैन’



काठमाडौं, असार २८ – नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले मन्त्रीहरुको घुस प्रकरणमा सरकार कसैको पनि संरक्षणमा नरहेको स्पष्ट पारेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्यतथ्य खुलेपछि दोषी ठहरिने मन्त्रीमाथि आवश्यक कारबाही हुने दाबी गरे।

तामाङले भने, “यदि कुनै मन्त्री दोषी ठहरिन्छ भने उसमाथि निस्पक्ष रूपमा कारबाही हुन्छ। सरकार कसैलाई जोगाउँदैन, न कुनै प्रकारको संरक्षण दिन्छ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि देशको अर्थतन्त्र सुधारको दिशामा अघि बढेको दाबी गरे। “देश अराजकता र आर्थिक अनुशासनहीनताको अवस्थामा थियो। अहिले आर्थिक सूचकांक सकारात्मक छन्। लगानीमैत्री वातावरण बनेको छ, निजी क्षेत्रलाई प्रोत्साहन गरिएको छ,” तामाङले भने।

उनका अनुसार हालसम्म सरकारले ३० अर्बभन्दा बढी दायित्व भुक्तानी गरेको, आर्थिक वृद्धि ०.५ प्रतिशत पुगेको, पुँजीगत खर्च र राजस्व दुवैमा वृद्धि भएको, तथा १८ वटा आर्थिक सूचक सकारात्मक दिशामा रहेको छ।

साथै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा संभावित पुनरागमन विषयलाई लिएर अनावश्यक हल्ला भएको टिप्पणी गरे। “विद्यादेवी भण्डारी राजनीतिमा फर्किन्छिन् कि भन्ने कुरा महाधिवेशनले तय गर्ने हो, तर यसलाई अहिले एमालेलाई कमजोर बनाउन प्रयोग गर्ने प्रयास भइरहेको छ,” उनले आरोप लगाए।

उनले आगामी ११औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै केपी शर्मा ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने धारणा राखे। “अध्यक्ष ओलीले पार्टी एकीकृत राख्न सफल हुनुभएको छ, र यही नेतृत्व कायम रहनेछ,” तामाङको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्