
काठमाडौं, असार २८ – नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुसकाण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरुलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यदि ती मन्त्रीहरुले स्वेच्छाले राजीनामा नदिए, प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने धारणा राखे।
रसाइलीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुससम्बन्धी अडियो सार्वजनिक भइसकेको र सो प्रकरणमा भूमिमन्त्री बलराम अधिकारीको समेत संलग्नता देखिएको स्मरण गराउँदै भने, “सरकारका मन्त्रीहरुको वार्तालाप नै सार्वजनिक भइसकेपछि यो प्रकरण अब केवल आन्तरिक छलफलको विषय मात्र रहँदैन। यसमा सरकारलाई गम्भीर ढंगले छानबिन गर्न जरुरी छ।”
उनले थपे, “मन्त्रीहरुले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले उनीहरुलाई बर्खास्त गर्नैपर्छ। सरकारप्रति जनविश्वास कायम राख्न यस्तो कडाइ आवश्यक छ।”
रसाइलीले वर्तमान सरकारको एकवर्षे कार्यकाल अपेक्षाअनुसार सफल हुन नसकेको दाबी पनि गरे। उनका अनुसार प्रधानमन्त्री ओली र केही मन्त्रीहरुमा केही ‘हुटहुटी’ देखिए पनि जनताका अपेक्षाअनुसार सेवा प्रवाह हुन सकेको छैन। उनले भने, “सरकार पूर्ण असफल त होइन, तर जनताले चाहेजस्तो गति लिन सकेन।”
पार्टीको आन्तरिक विषयमा बोल्दै रसाइलीले कांग्रेसमा संस्थापन पक्षले पूर्वाग्रही ढंगले अनुशासनको डन्डा चलाएको आरोप लगाए। शेखर कोइराला र गगन थापा समूहका नेताहरुलाई नियोजित रूपमा कारबाही गरिएको भन्दै उनले २३ नेतामाथिको कारबाही फिर्ता हुनुपर्ने माग गरे। “विचार, सिद्धान्त, चुनावी प्रतिस्पर्धा वा आन्तरिक असहमति राख्नेहरुमाथि कारबाही गर्ने तर आफ्ना पक्षधरहरुलाई उन्मुक्ति दिने कार्य गम्भीर षड्यन्त्र हो,” उनले भने।





