नेपालगन्ज नाइट रन एम्समा आबद्ध, नेपालको चौथो अन्तर्राष्ट्रिय मान्यता प्राप्त दौड



नेपालगन्ज
नेपालको एकमात्र रात्रीकालीन १० किमि दौड ‘नेपालगन्ज नाइट रन’ ले एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा आबद्धता प्राप्त गर्दै विश्व मञ्चमा स्थान बनाएको छ।

हरेक वर्ष संविधान दिवस (असोज ३) मा सुर्खेत रोडमा आयोजना हुने यो दौड गत वर्षदेखि सुरु भएको हो। यो आबद्धताले नेपालगन्जलाई एम्सद्वारा मान्यता प्राप्त दुई इभेन्ट—धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन—आयोजना गर्ने नेपालको पहिलो सहर बनाएको छ।

नेपालगन्ज म्याराथनको रुट नेपालकै सबैभन्दा सहज मानिन्छ। एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत भएसँगै यी दौडले सहरको अन्तर्राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्नेछ।

नेपालगन्ज म्याराथनका संस्थापक एवम् एम्स नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, “यो आबद्धताले सहरको ब्रान्डिङमा सहयोग पुग्छ र विदेशी धावकहरूलाई आकर्षित गर्छ।”

नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रन पनि वार्षिक रूपमा आयोजना हुन्छन्। ठकुरीका अनुसार यी दौडलाई पनि क्रमशः एम्स मान्यता दिलाउने योजना छ।

गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ मा एम्सको बोर्ड बैठक सम्पन्न भएको थियो। सोही अवसरमा एम्स अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनको रुट अवलोकन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्