
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) की चर्चित टोली सुदूरपश्चिम रोयल्सले अण्डर–१६ राष्ट्रिय टोलीका युवा क्रिकेटर सुशील रावललाई अभ्यासका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट भएका ८ जना होनहार खेलाडीमध्ये रावल पनि एक हुन्। हालै सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय ACC U-16 ईस्ट जोन कपमा उनले नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

सहयोग हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश खड्काले भने, “ट्यालेन्ट हन्टबाट उब्जिएका खेलाडीहरूले राष्ट्रिय टोलीसम्म स्थान बनाउनु गौरवको विषय हो। सुशील रावलजस्ता प्रतिबद्ध खेलाडीलाई सहयोग गर्न पाउनु हाम्रो लागि पनि प्रेरणादायी छ।”
उनले क्षेत्रीय खेल प्रतिभाहरूको खोज र प्रोत्साहनलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै थपे, “सुदूरपश्चिममा थुप्रै लुकेका हिरा छन्। हामी नयाँ प्रतिभाको खोजी र प्रोत्साहनमा लागिरहनेछौं। एनपीएलको तयारी पनि यसपटक फरक र भव्य रूपमा भइरहेको छ। फ्यानहरूले धैर्य गर्नुस्, केही नयाँ देख्नु हुनेछ।”
सुदूरपश्चिम रोयल्सको यो सहयोगी कदमलाई क्षेत्रीय स्तरमा खेल विकासमा निजी क्षेत्रको सक्रिय र सकारात्मक भूमिकाको उदाहरणका रूपमा लिइएको छ।





