
काठमाडौं, असार २७ गते ।
डेविस कप टेनिस प्रतियोगितामा सहभागी हुन ६ सदस्यीय नेपाली टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ। आगामी जुलाई १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले ग्रुप–४ अन्तर्गत प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोलीमा खेलाडी प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुषमान हजुर घले रहेका छन्। टोलीको प्रशिक्षक जितेन्द्र परियार र व्यवस्थापक जयजीव हाडा छन्।
प्रतियोगितामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र दुई समूहमा विभाजित भई खेल्नेछन्।
टोलीलाई शुक्रबार एक विशेष कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले बिदाइ गरेका थिए।





