
काठमाडौं, असार २६ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत निर्माण गरिएको खेल विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाई परफमेन्स सेन्टरको बिहीबार उद्घाटन गरेका छन्। दुवै संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपले निर्माण गरेको हो।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सेन्टरमा रहेका उपकरणहरूको अवलोकन गर्दै आउटडोर तथा हिटिङ पौडी पोखरीको पनि निरीक्षण गरेका थिए। राखेपले पहिलोपटक खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र निर्माण गरेको हो। ७,५७८ वर्गफिट क्षेत्रफलमा फैलिएको सेन्टरमा एकैपटक १०० खेलाडीले अभ्यास गर्न सक्ने सुविधा छ। साथै ४,०९६ वर्गफिट क्षेत्रफलको जिमहलमा अत्याधुनिक उपकरणहरू जडान गरिएका छन्—जसमा ट्रेडमिल, इलिप्टिकल, स्क्वाट स्टेन्ड, स्मिथ मेशिन, पावर स्टेन्ड, थेरापी रुम, स्टीम रुम, चेंजिङ र लकर रुम, शौचालय र कार्यालय कक्षहरू रहेका छन्।

खेलाडीहरूको समग्र प्रदर्शन सुधारका लागि राखेपले स्थापना गरेको अनुसन्धान केन्द्रमा भिओ टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, सर्फेस ईएमजी, मोसन ट्र्याकिङ, बायो मेकानिक्स फुल सिस्टम लगायतका उपकरणहरू छन्। यसले खेलाडीको क्षमताको वैज्ञानिक परीक्षण गरी प्रशिक्षण थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित स्रोत–साधनमा पनि नेपाली खेलाडीहरूले देशको गौरव बढाएको बताउँदै यस्तो संरचनाले खेल क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले सेन्टरको अधिकतम प्रयोग गर्दै खेल र खेलाडीलाई व्यवसायिक बनाउनेतर्फ अघि बढ्न सुझाव दिए।

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको सीमित क्षमताका कारण भक्तपुरको सूर्यविनायकमा २५–५० हजार दर्शक अट्ने नयाँ रंगशाला निर्माणको योजना रहेको र कीर्तिपुर रंगशालाको क्षमता दोस्रो चरणमा विस्तार गरिने जानकारी गराए। उनले मिसन–२०२६ लाई भव्यरूपमा अघि बढाउन सबैलाई आह्वान गर्दै खेलाडीमा जित्ने आत्मविश्वास आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष तेजुलाल चौधरीले यस्तो संरचना सातै प्रदेशमा आवश्यक रहेको बताए। उपाध्यक्ष ध्रुव आचार्यले खेलकुदलाई दक्ष र स्वस्थ नागरिक निर्माणको माध्यमका रूपमा प्रस्तुत गरे। सदस्य–सचिव टंकलाल घिसिङले सेन्टरको स्थापना नेपालमा खेलकुद विज्ञानको नयाँ युगको सुरुवात भएको बताए।
कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, राष्ट्रिय खेल संघका प्रतिनिधिहरू, ओलम्पियन, मिसन–२०२६ अन्तर्गतका खेलाडीहरू तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।





