
काठमाडौं, असार २५ – लागुऔषध गाँजाको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले ४० किलोग्राम गाँजा (पोलेन), नगद १ लाख २५ हजार रुपैयाँ र अन्य सामग्रीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८२ साल असार २५ गते बिहान ८ बजे काठमाडौं महानगरपालिका–३२ को पाल्पाकोट चोक, कोटेश्वरस्थित एक घरमा गाँजाको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले जिल्ला धादिङ, गजुरी गाउँपालिका–४ घर भई हाल कोटेश्वरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय सुमन चेपाङको कोठाबाट लुकाइछिपाइ राखिएको ४० किलो गाँजा (पोलेन), नगद १ लाख २५ हजार रुपैयाँ, ३ थान मोबाइल र दुईवटा मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको विवरण:
- १९ वर्षीय निराजन चेपाङ, धादिङ, गजुरी गाउँपालिका–४
- १९ वर्षीय प्रकाश चेपाङ, हाल कोटेश्वर
- २० वर्षीय शंकर चेपाङ, हाल कोटेश्वर
- ३६ वर्षीय जिवन प्रजा, काठमाडौं महानगरपालिका–३, महाराजगञ्ज
- ३८ वर्षीय सुमन चेपाङ, कोटेश्वर
बरामद सामग्री:
- ४० किलोग्राम गाँजा (पोलेन)
- नगद रु. १,२५,०००।–
- बा.५५प.४२६५ नम्बरको १५० सिसी पल्सर मोटरसाइकल
- बा.८५प.५२३४ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल
- मोबाइल फोन ३ थान
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।





