
बाजुरा, असार २३ ।
नेपाली सेनाले बाजुरास्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। समुद्री सतहदेखि करिब ४२२० मिटर उचाइमा अवस्थित मल्लागिरी पर्वत क्षेत्रमा रहेको यो मन्दिर सुदूरपश्चिमको प्रमुख आस्था केन्द्रका रूपमा चिनिन्छ।

मिति २०८१ चैत २८ गते सुरु गरिएको पुनर्निर्माण कार्य करिब दुई महिनामा सम्पन्न भएको हो। निर्माण अवधिभर श्रद्धालु भक्तजनका लागि मन्दिर खुल्ला राखिएको थियो, जसले भक्तजनको आस्थामा अवरोध नआउने व्यवस्था मिलाइएको थियो।

यो कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) अन्तर्गत पुरातत्त्व विभागको स्वीकृत डिजाइन तथा प्राविधिक मार्गदर्शन अनुसार गरिएको हो। परम्परागत निर्माण सामग्रीको प्रयोग गर्दै मन्दिरको मौलिक स्वरूप यथावत् राख्दै पुनर्निर्माण सम्पन्न गरिएको हो।
पुनर्निर्माण कार्यमा रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, भक्तपुर तथा ललितपुरका दक्ष कालीगढहरू, साथै स्थानीयवासीहरूको सक्रिय सहयोग रह्यो। विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र सामग्री व्यवस्थापनजस्ता चुनौतीबीच पनि यो कार्य समयमै सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ।





