
काठमाडौं, असार २५।
द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा प्रभावशाली प्रदर्शन गरेका १० महिला फुटबलरलाई नगदसहित छात्रवृत्तिमा सम्मान गरेको छ। बुधबार धुम्बाराहीस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारीसहितका खेलाडीहरूलाई सम्मान गरिएको हो।

सम्मानित खेलाडीहरूमा कप्तान सावित्रासँगै अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा राना, अनु लामा, हिरा कुमारी भुजेल, सावित्री किसान, कुसुम खतिवडा र सुनकला राई छन्। उनीहरूमध्ये प्रत्येकले १० हजार रुपैयाँ नगद तथा कूल १८ लाख रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्राप्त गरेका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष तथा प्रमुख अतिथि दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ र एन्फाका सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगद र सम्मानपत्र प्रदान गरे।
वडाध्यक्ष महर्जनले महिला फुटबलमा अझ लगानी बढाउनुपर्नेमा जोड दिँदै भने, “महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। उनीहरू हाम्रो समाजका हिरो हुन्। अब हामीले खेलकुदमा थप लगानी गर्नु आवश्यक छ।”
विद्यालयका संस्थापक प्रधानाध्यापक श्रेष्ठले चार वर्षदेखि महिला फुटबलरलाई छात्रवृत्ति दिँदै आएको जानकारी गराउँदै भने, “खेलकुदमार्फत देशको नाम चम्काउने खेलाडीलाई औपचारिक शिक्षामा समेत साथ दिन पाउँदा हामी गर्व गर्छौं। अहिले साम्बासहित १० जना खेलाडी पूर्ण छात्रवृत्तिमा बीबीएस अध्ययन गरिरहेका छन्।”
सम्मानपछि कप्तान सावित्राले इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसलाई धन्यवाद दिँदै भनिन्, “शिक्षा सबैका लागि महत्वपूर्ण हुन्छ। फुटबलसँगै पढाइलाई पनि अघि बढाउने अवसर पाउनु हाम्रो लागि सौभाग्य हो।”
एकै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसमा हाल पुरुष राष्ट्रिय टिम र उमेर समूहका १४ जना खेलाडी पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।
यही सम्मानित खेलाडीहरूमध्ये सावित्रा, पूजा, अनिता, रेखा र सविताले हालै सम्पन्न एएफसी वुमेन्स एसियन कप छनोटमा सहभागी भएका थिए। उज्वेकिस्तानको तास्कन्दमा भएको छनोटमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरे पनि घरेलु टिम उज्वेकिस्तानसँग ३–३ को बराबरीपछि टाइब्रेकरमा पराजित हुँदै अस्ट्रेलिया यात्रा गुमाएको थियो। यद्यपि टिमको समग्र प्रदर्शन निकै प्रशंसनीय रह्यो।





