
काठमाडौं, असार २५ गते – अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ‘लेभल वान टेबलटेनिस कोचिङ कोर्ष’ बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ। अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डरअनुसार सञ्चालन भइरहेको उक्त कोर्षमा नेपालका २८ र भारतका २ प्रशिक्षार्थी गरी कुल ३० जना सहभागी छन्।
संघका महासचिव कुबेरप्रकाश सिंहका अनुसार सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी प्रशिक्षार्थी छनोट गरिएको हो। नेपाली प्रशिक्षार्थीमा संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक छन्।
भारतबाट निथिन हरिदास र सुदर्शने भेलायोदम सहभागी भएका छन्। संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार कोर्ष आईटीटीएफका डेभलपमेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्दैछन्।
कोर्षको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमका बीच गरे। उद्घाटन समारोहमा संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रम असार २९ गतेसम्म सञ्चालन हुनेछ।





