इटहरी नृत्यकर्मी समूहको ६ दिने नेवारी नृत्य कार्यशाला संचालन



काठमाडौं। इटहरी नृत्यकर्मी समूहको आयोजनामा नेवारी सांस्कृतिक नृत्यको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले इटहरीमा ६ दिने नेवारी नृत्य कार्यशाला भइरहेको छ । इटहरीको द बिहानी डान्स ईण्टरटेन्मेट हल तीनजुरे चोकमा असार २० गतेदेखि सुरु भएको उक्त कार्यशाला असार २५ गतेसम्म चल्नेछ ।

कार्यशालामा नेवारी समुदायमा प्रचलित तीन महत्वपूर्ण नाचहरू – लाखे नाच, घिंमे नाच र ठाकठुके (घिन्ताङ्किसी) नाच सिकाइँदैछ । कार्यशालामा भक्तपुर जिल्लाका वरिष्ठ नृत्य प्रशिक्षक महेश प्रकाश हाडाले प्रशिक्षण गराइ रहनुभएको छ ।

उहाँले विगत लामो समयदेखि नेवारी संस्कृतिको संरक्षणका लागि योगदान दिँदै आउनुभएको छ । नेवार समुदायका लोप हुँदै गएको विभिन्न किसिमका थुप्रै नाचको विषयमा जानकारी गराएर नाचको संरक्षण तर्फ जुटेको महेश प्रकाश हाडाले बताउनुभयो ।

त्यस्तै, कार्यशालाबाट युवापुस्तामा मौलिक नृत्यप्रतिको आकर्षण बढ्ने र हराउँदै गएको परम्परागत संस्कृति पुनर्जीवित गराउने उदेश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं इटहरी नृत्य कर्मी समुहकी वरिष्ठ नृत्य निर्देशक प्रनिसा उदासज्यूले बटाउनु भयो ।

कार्यशालामा इटहरी ,धरान ,तरहरा ,विराटनगर झापा,इनरुवा लगाएत कोशी प्रदेशका विभिन्न संघ संस्थाबाट ७१ जना प्रशक्षार्थी सहभागी भएका छन् । दैनिक दिउँसो १२:३० बजेदेखि ४:३० बजेसम्म हुने कार्यशालामा सहभागीहरूले व्यावहारिक प्रशिक्षणसँगै सैद्धान्तिक एवं तालबाजाहरुको पनि आवश्यक ज्ञान समेत प्राप्त गरिरहेका छन् ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूद्वारा २०८२ श्रावण ३० गते भव्यरुपमा सिकेका नाचहरुको सार्वजनिक प्रदर्शन समेत गरिने आयोजकहरूले जनाएका छन् । आयोजकहरूका अनुसार, यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिई इटहरीलाई पूर्वाञ्चलको सांस्कृतिक केन्द्रका रूपमा विकास गरिने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्