बोश नेपालको डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सार्वजनिक, मेकानिकहरूलाई विशेष लाभ



काठमाडौं — अटोमोटिभ प्रविधिमा विश्वभर चर्चित जर्मन ब्रान्ड बोशले नेपाली बजारमा नयाँ डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेशनलको सहकार्यमा आयोजित एक कार्यक्रममार्फत कम्पनीले यस कार्यक्रमको औपचारिक सुरुवात घोषणा गरेको हो।

‘हाम्रो बोश’ कार्यक्रम विशेषगरी काठमाडौंका स्थानीय मेकानिकहरूलाई लक्षित गरी ल्याइएको हो, जसले बोशका स्पेयर पार्ट्सको बजार विस्तारमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममा बोश भारतका प्रतिनिधि, स्थानिय वितरक, तथा करिब १५० जना मेकानिक्सको सहभागिता रहेको थियो।

बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीका अनुसार नेपाल अटोमोटिभ क्षेत्रको लागि एक महत्वपूर्ण सम्भावनायुक्त बजार हो। उनले भनिन्, “यो एप प्रयोग गरेर मेकानिकहरूले ओरिजिनल बोश पार्टपुर्जाको प्रयोग गर्दा पोइन्टहरू ट्र्याक र रिडिम गर्न सक्नेछन्, जसले उनीहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ।”

बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले ‘हाम्रो बोश’ नेपाली ग्राहकहरूसँगको सम्बन्धलाई अझ सशक्त बनाउने माध्यम भएको बताए। उनले भने, “नेपालमा प्रविधिनिरपेक्ष समाधान ल्याउने कार्यमा बोश सधैं अग्रसर रहँदै आएको छ।”

सत्यदिप इन्टरनेशनलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले विगत दुई दशकदेखि बोशसँगको सहकार्य गर्वको विषय भएको बताए। “मेकानिक्सलाई केन्द्रमा राखेर सुरु गरिएको यो डिजिटल पहलले बोश ब्रान्डलाई अझ मजबुत बनाउने छ,” उनले भने।

बोशले अटोमोटिभ क्षेत्रका अतिरिक्त पावर टूल्स, भवन प्रविधि, र घरेलु उपकरणहरूमा समेत विश्वभर नवीन उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्