
मोरङ
मोरङको रतुवामाई नगरपालिका–६ की ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या अभियोगमा उनका देवर ६९ वर्षीय टंक बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।
२०७९ असार २१ गते दिउँसो करिब ४ बजे टिकामायाको आफ्नै बारीमा मृत अवस्थामा फेला परेको सूचना इलाका प्रहरी कार्यालय सिजुवामा प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेका थिए। फरेन्सिक रिपोर्ट अनुसार मृतकको टाउकोको पछाडिको दायाँ भागमा गम्भीर चोटका कारण मृत्यु भएको पुष्टि भएको थियो।
अनुसन्धानका क्रममा मृतक टिकामाया कार्कीलाई अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण आपसी रिसिइबीका कारण देवर टंक बहादुर बस्नेतले हसियाको बिँडले टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। उक्त अंश मुद्दामा उच्च अदालतबाट फैसला भइसकेको थियो।
२०७९ असार २३ गते टंक बहादुर बस्नेतलाई उनको घरबाटै हत्यामा प्रयोग गरिएको हसिया सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय सिजुवामा ल्याइएको छ। हाल मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गराई थप अनुसन्धान भइरहेको छ।





