अफताब आलमलाई अदालतको सफाइ, बम विस्फोटमा पीडित गौरीशंकर न्याय खोज्दै काठमाडौंमा



काठमाडौं, असार २२ – नवौं संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटको घटनामा जीवनभरको पीडा बोकेका भारत बिहार सीतामढीका गौरीशंकर राम चमार अहिले काठमाडौंमा छन् — न्यायको गुहार माग्दै। उनले आफू अफताब आलमको घरमा पैसा लिन जाँदा बम विस्फोटमा परेर दुवै कान गुमाएको, अनुहार, घाँटी र छातीमा गहिरो चोट लागेको दाबी गरेका छन्।

२०६४ साल चैत २७ गते, रौतहटको राजपुर फरहदवास्थित नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको इँटाभट्टामा विस्फोट भएको घटनामा अदालतले पर्याप्त प्रमाण नपाएको भन्दै आलमलाई सफाइ दिएको हो। उच्च अदालत वीरगन्ज इजलासको फैसलामा विस्फोट नै पुष्टि नहुने उल्लेख गरिएको छ।

तर, ती घटनाका साक्षी तथा पीडित गौरीशंकरको कथाले त्यो फैसलालाई प्रश्नचिह्न बनाएको छ। “म पैसा लिन अफताबको घर पुगेको थिएँ,” गौरीशंकरले सुनाए, “ढोका नजिकै पुगेको थिएँ, त्यत्तिकैमा बम पड्कियो। आगो लागेपछि म भागेँ, पानीमा हाम फालेँ। जब होस खुल्यो, म सीतामढीको अस्पतालमा थिएँ।”

तीन महिना उपचारमा बिताएका उनले झन्डै साढे ३ लाख भारतीय रुपैयाँ खर्च भएको बताए। “तर अफताबले एकचोटि पनि सोधेन – तिमी बाँच्छौ कि मर्छौ?,” भन्छन् उनी, “न त पैसा दियो, न सहयोग गर्‍यो।”

गौरीशंकरका अनुसार घटना निर्वाचनको अघिल्लो साँझ भएको थियो। गाउँलेहरूले उनलाई भारत पुर्‍याएको र अन्य दुई जना पनि घाइते भएको उनले बताए। “कतिजना मरे, मलाई थाहा छैन। तर बम त पक्कै पड्किएको हो,” उनले थपे।

उनका अनुसार, सुरुमा प्रहरीमा बयान दिँदा अफताबका मान्छेले आमालाई धम्की दिएको थियो – “तिम्रो छोरा मर्छ, अब केही वर्ष मात्रै बाँच्छ।”

“अफताब आलमको छुटाइले मलाई गहिरो चोट लागेको छ,” भन्छन् उनी, “म अझै धम्कीमा छु, डराएको छु। शारीरिक अवस्था कमजोर छ, काम गर्न सक्दिन। म मर्छु कि बाँच्छु, थाहा छैन। तर यस्तो अन्याय देखेर म छट्पटिएको छु।”

गौरीशंकर अहिले सरकार र न्यायपालिकासमक्ष गुहार मागिरहेका छन् – “त्यस्तो मान्छे छुट्न हुँदैन, कडा भन्दा कडा सजाय दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्