
काठमाडौं, असार २२ – नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। प्रतियोगितामा नेपालले २१ स्वर्ण, ९ रजत र २० कांस्य पदक जित्दै टिम उपविजेता बन्न सफल भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिएका छन्।
महिला तर्फ ६८ केजीमाथिको तौल समूहमा ‘हिमालयन वारियर्स’ उपनाम पाएकी एरिका गुरुङले, ५० केजीमा पुष्पका लामा र ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत तथा टिम कुमुतेमा दुई–दुई स्वर्ण पदक जित्दै उल्लेखनीय सफलता दिलाए। पुरुष यु–२१ र सिनियर व्यक्तिगत कुमुतेमा प्रदीप बैजाली मगरले १–१ स्वर्ण तथा टिम इभेन्टमा रजत पदक हात पारे।
नेपाल यसअघि सातौं संस्करण (नेपाल) र आठौं संस्करण (भुटान) मा टिम च्याम्पियन बनेको थियो। यसपटक श्रीलंकाको कोलम्बोमा सम्पन्न प्रतियोगितामा भारत २३ स्वर्ण, २४ रजत र १२ कांस्यसहित च्याम्पियन बन्यो। श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्यसहित तेस्रो स्थान हात पार्यो। चौथो स्थानमा बंगलादेशले ३ स्वर्ण, ७ रजत र १४ कांस्य जित्यो।
छ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तानले १ रजत र ७ कांस्यसाथ पाँचौं र भुटानले १ रजत र १ कांस्यसाथ छैटौं स्थान हासिल गरे।





