फाइभ ए साइड महिला हक्कीमा नेपाल आर्मी च्याम्पियन



असार २१, भक्तपुर
नेपालमा पहिलोपटक आयोजित राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लबले उपाधि जितेको छ। फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो।

सेमिफाइनलमा नेपाल आर्मीले कोशी प्रदेशलाई ६–० को फराकिलो अन्तरले हराएको थियो भने सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए।

प्रतियोगिता भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसल मैदानमा सम्पन्न भएको हो। उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए भने पुरस्कार वितरण परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए।

विजेता टोली नेपाल आर्मीले नगद ५० हजार र उपविजेता सुदूरपश्चिमले २५ हजार रुपैयाँ प्राप्त गरे। यो जानकारी राखेपकी कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले दिएकी हुन्।

प्रतियोगिताका व्यक्तिगत विधातर्फ सुदूरपश्चिमकी आशीका एस. के. आठ गोलसहित टुर्नामेन्टको सर्वोच्च स्कोरर घोषित भइन्। नेपाल आर्मीकी सरस्वती तामाङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भइन्। यस्तै, सुदूरपश्चिमकी पूर्णिमा नेगी उत्कृष्ट डिफेन्डर, आर्मीकी कुश्मा राना मगर उत्कृष्ट गोलकिपर, र बागमती प्रदेशकी सपना तामाङ उदयीमान खेलाडी घोषित भए।

विधागत उत्कृष्टता देखाएका सबै खेलाडीहरूलाई ट्रफीद्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्