महिला टी–२० क्रिकेटको उपाधि स्याङजालाई, लगातार दोस्रो पटक च्याम्पियन



पोखरा, असार २० – गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङजा जिल्लाले जितेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा स्याङजाले कास्कीलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पारेको हो।

टाइटलसँगै नगद पुरस्कार
उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको कास्कीले ५० हजार रुपैयाँमा चित्त बुझायो।

स्याङजाको सहज जित
५७ रनको लक्ष्य पछ्याएको स्याङजाले १०.३ ओभरमै ३ विकेट गुमाएर ६० रन बनाउँदै जित सुनिश्चित गर्‍यो। टिमका लागि सिमाना केसीले २२ बलमा १ चौकासहित अविजित १७ रन बनाइन् भने कुशुम गोदार ११ रनमा नटआउट रहिन्। ओपनर श्रेया शाह ५, सलिना सेन ६ र ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन्। कास्कीका रचना चौधरी र यशोदा भुजेलले समान १/१ विकेट लिइन्।

कास्कीको कमजोर ब्याटिङ
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कास्की १६ ओभरमा मात्र ५६ रनमै अलआउट भयो। रेखा तामाङले २८ बलमा २४ रन (२ चौका, १ छक्का) र रचना चौधरीले २५ बलमा १४ रन (२ चौका) बनाए। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्। पाँच खेलाडी शून्यमै आउट भए।

स्याङजाको प्रभावशाली बलिङ
स्याङजाका अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिँदा सिमाना केसीले ४ ओभरमा १३ रन दिँदै ३ विकेट लिइन्।

व्यक्तिगत पुरस्कार
सिमाना केसी: वुमन अफ दि म्याच, उत्कृष्ट बलर र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी
सिर्जना पौडेल (कास्की): उत्कृष्ट ब्याटर
सोनिमा पुन मगर (कास्की): उदियमान खेलाडी

चार दिनसम्म चलेको प्रतियोगितामा स्याङजा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्