माननीय युवा तथा खेलकुद मन्त्रीद्वारा स्वयम्‌सेवक तेक्वान्दो प्रशिक्षक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न



२०८२ साल आषाढ २० गते, नेपाल तेक्वान्दो संघद्वारा आयोजित स्वयम्‌सेवक तेक्वान्दो प्रशिक्षक विशेष तालिमको समापन कार्यक्रम युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यूको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भयो।

नेपाल तेक्वान्दो संघले प्रशिक्षकहरूको प्राविधिक ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि २०७२‌ आषाढ १५ गतेदेखि २० गतेसम्म विशेष तालिमको आयोजना गरेको थियो। तालिममा विभिन्न राष्ट्रिय खेल संघका अध्यक्षहरू, पदाधिकारीहरू, खेल विज्ञ, फिजियोथेरापिस्ट, न्युट्रिशनिस्ट तथा अन्तर्राष्ट्रिय निर्णायकहरूको उपस्थिति तथा सहकार्य रहेको थियो।

सात दिने उक्त तालिममा प्रशिक्षकहरूलाई स्पोर्ट्स साइन्स, खेल मनोविज्ञान, टिम ट्रेनिङ, एड्भान्स फिजिकल ट्रेनिङ, अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन सम्बन्धी नियम, फिजियोथेरापी तथा पोषण विज्ञान जस्ता विषयमा विशेषज्ञद्वारा प्रशिक्षण दिइएको थियो।

प्रशिक्षक तथा प्रशिक्षक टिममा निम्न विज्ञहरू रहेका थिए:

खेल विज्ञ: रमेश खनाल, पार्थ सारथी सेन गुप्ता, केशव राज गौतम, रिता मैया प्रजापति

वरिष्ठ कन्सल्टेन्ट फिजियोथेरापिस्ट: डा. उषा गुरुङ

वरिष्ठ सर्जन: डा. सुशील ढुङ्गेल

राष्ट्रिय टिमका हेड कोच: सयद हसन रेजा

नेपाल तेक्वान्दो संघका प्राविधिक सल्लाहकार तथा अन्तर्राष्ट्रिय निर्णायक: टार्जन सुब्बा

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यहरू: हेमन्त डाँगी, बब्लु शिवाकोटी

कार्यक्रममा मन्त्रीमण्डल सदस्य माननीय तेजुलाल चौधरीज्यूले नेपालमा तेक्वान्दोको आधिकारिक संघ नेपाल तेक्वान्दो संघ भएको पुष्टि गर्दै, सबै प्रशिक्षक तथा खेलाडीहरूलाई यही संघसँग समन्वयमा अघि बढ्न सुझाव दिनुभयो। साथै, संघद्वारा प्रदान गरिने प्रमाणपत्रहरूलाई CTEVT मार्फत मान्यता दिलाउने विषयमा छलफल भइरहेको जानकारीसमेत दिनुभयो।

देशभरका १०० जना स्वयम्‌सेवक प्रशिक्षकहरूलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरियो। साथै, तालिममा विशेष योगदान पुर्‍याउने प्रशिक्षक तथा विज्ञहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकहरूलाई निम्न सम्मान प्रदान गरियो:

उत्कृष्ट पुरुष कोच: कोच आशिष महर्जन

उत्कृष्ट महिला कोच: कोच सन्दिपा अम्गाई

उक्त दुवै प्रशिक्षकलाई मन्त्रीज्यूद्वारा विशेष सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्