
पोखरा, आषाढ २० – पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा प्रवेश गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शुक्रबार लिग चरणका खेलहरू सम्पन्न भएसँगै फाइनल प्रवेश गर्ने टिमको टुंगो लागेको हो।
स्याङ्जाको सहज जित

स्याङ्जाले नवलपुरलाई ८ विकेटले पराजित गर्दै उपविजेता बन्दै फाइनलमा स्थान सुरक्षित गर्यो। नवलपुरले दिएको ५७ रनको लक्ष्य स्याङ्जाले ८.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।
स्याङ्जाको जितमा सलिना सेनले २३ रन (२ चौका, २३ बल) र श्रेया शाहले १४ रन (१ चौका, २८ बल) बनाउँदै महत्त्वपूर्ण योगदान दिइन्। ज्योत्सना मरासिनी ५ रन र सिमाना केसी शून्य रनमा अविजित रहिन्।
नवलपुरका आयुषा चापागाईं र लिजा गुरुङले समान १/१ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नवलपुर १५.३ ओभरमा जम्मा ५६ रनमा अलआउट भएको थियो। धनकुमारी क्षेत्रीले १७ रन बनाए पनि अन्य सबै ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।
स्याङ्जाका लागि सिमाना केसीले उत्कृष्ट बलिङ गर्दै ३.३ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ४ विकेट लिइन्। यस्तै, आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान २/२ विकेट लिए।
कास्कीको सशक्त प्रदर्शन
लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता बन्यो। कास्कीले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनायो।
कास्कीका सिजर्ना पौडेलले ५३ बलमा ३ चौकासहित सर्वाधिक ४१ रन बनाइन्। विनिता नेपालीले १७, विनिता सिग्देलले ११ रन जोडिन्।
पर्वतका लागि जिविका क्षेत्रीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिइन् भने प्रतिभा खड्का र सुशिला भट्टराईले १/१ विकेट लिए।
जवाफमा, पर्वत १०.१ ओभरमा मात्र २८ रनमै समेटियो। एक जना पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्।
कास्कीका लागि सोनिमा पुन मगरले ३ विकेट लिइन्, यशोदा भुजेलले २ तथा रोजि परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले १/१ विकेट लिए।
अन्तिम लिग चरणको नतिजा यस्तो रह्यो:
कास्की – ३ जित (६ अंक) – समूह विजेता
स्याङ्जा – २ जित, १ हार (४ अंक) – उपविजेता
नवलपुर – १ जित, २ हार (२ अंक)
पर्वत – १ बराबरी (वर्षाका कारण), २ हार (१ अंक)
अब फाइनलमा कास्की र स्याङ्जाबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।