नेपालमा पहिलोपटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने



काठमाडौं, असार १९

नेपाल हक्की संघको आयोजनामा पहिलोपटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड इन्डोर हकी प्रतियोगिता हुने भएको छ। भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसल मैदानमा आयोजना हुने प्रतियोगितामा देशका विभिन्न प्रदेश तथा एक विभागीय टोली गरी ६ टोलीको सहभागिता रहनेछ।

महासचिव सुवर्ण श्रेष्ठका अनुसार प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा कोशी, बागमती र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल आर्मी, गण्डकी र मधेश परेका छन्।

प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने बताइएको छ। प्रत्येक खेल २० मिनेटको हुनेछ। प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र उदाउँदो खेलाडी (इमर्जिङ प्लेयर) लाई ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको टेक्निकल निर्देशनसमेत गरिएको छ।

यो प्रतियोगिता नेपालको महिला हकीको क्षेत्रमा नयाँ प्रयोग र उत्साहजनक सुरुआतको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्