
पोखरा, असार १९ – पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा पर्वत र स्याङ्जाले वर्षाका कारण अंक बाँडेका छन्।

कास्की ३९ रनले विजयी, फाइनल यात्रा नजिक
दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गर्ने पहिलो टोली बनेको हो। ११८ रनको लक्ष्य पछ्याएको नवलपुर २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमै समेटियो।
नवलपुरका लागि मोनिका लामिछानेले सर्वाधिक २२ रन बनाइन् भने धनकुमारी क्षेत्रीले ८ र पुर्णिमा सुनारले ७ रनको योगदान दिइन्। यमुना पंगेनी ७ रनमा अविजित रहिन् भने तीन खेलाडी खाता नखोली आउट भए।
कास्कीका बलर चन्द्रमाया बरालले २ विकेट लिए भने श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १/१ विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाएर ११७ रन बनायो। रचना चौधरीले अविजित २५ रन, चन्द्रमाया बरालले अविजित १५ रन बनाए। कप्तान सिर्जना पौडेलले २७ रन बनाउँदै टिमलाई मजबुत पारी दिइन्।
नवलपुरका यमुना पंगेनीले २ विकेट लिए भने श्रेया शर्मा र आयुषा चापागाईँले समान १/१ विकेट लिए।
पर्वत–स्याङ्जा खेल वर्षाले रोकियो, अंक बाँडफाँड
दोस्रो खेलमा स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाएर १४५ रनको ठोस स्कोर बनाएको थियो। जवाफी पारीमा पर्वतले १.१ ओभरमा २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा सुरू भएपछि खेल रोकियो। अन्ततः खेल पुनः सञ्चालन हुन नसक्दा दुबै टोलीले समान १/१ अंक बाँडे।
स्याङ्जाका लागि सिमाना केसीले ३८ बलमा २ चौका प्रहार गर्दै ३३ रन बनाइन्। ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन्। श्रेया शाहले १९, सलिना सेनले १३ रन बनाएकी थिइन्।
पर्वतका लागि दिपिका सापकोटाले २ र प्रतिभा खड्काले १ विकेट लिए। जवाफी ब्याटिङमा पर्वतका शुसिला भट्टराई ३ रनमा अविजित रहिन् भने योगिता केसी क्याच आउट र जिविका क्षेत्री रनआउट भइन्। स्याङ्जाका निरु जिटीले १ विकेट लिइन्।





