नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सनबीच खेलकुद प्रवर्द्धनका लागि समझदारी



काठमाडौं, असार १९ गते
विद्यालय तहमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ (NSFSC) र निजी तथा आवासीय विद्यालय संस्था, नेपाल (PABSON) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

महासंघका महासचिव राजकुमार कार्कीका अनुसार सम्झौतामार्फत विद्यालय स्तरीय खेलकुद र शैक्षिक कार्यक्रमहरूद्वारा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरहरूमा सहभागी गराउने सहमति भएको हो।

समझदारी अनुसार अबदेखि दुवै संस्थाले विद्यालय खेलकुदका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रशिक्षक विकास, खेल सामग्री उपलब्ध गराउने, छात्रछात्राको सक्रिय सहभागिता सुनिश्चित गर्ने र स्कूल गेम्स अन्तर्गतका गतिविधिमा प्रतिनिधित्व गर्ने लगायतका क्षेत्रमा संयुक्त पहल गर्ने छन्।

सम्झौतापत्रमा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ र प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय खेल विज्ञान विभागका प्रमुख प्रा. डा. पशुपति अधिकारीसहित महासंघ तथा प्याब्सनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष श्रेष्ठले विद्यालय तहको खेलकुद विकासमा यो समझदारी महत्वपूर्ण कोसेढुंगा हुने बताउँदै, सहकार्यले दीर्घकालीन परिणाम दिने विश्वास व्यक्त गरे। अध्यक्ष अधिकारीले भने शिक्षा सँगसँगै खेलकुदलाई पनि निजी विद्यालयहरूले उच्च प्राथमिकतामा राख्नुपर्ने समय आएको बताए।

प्रतिक्रिया दिनुहोस्