“प्रहरी हुँ भन्दै शरिर बन्धक बनाई डकैती गर्ने समूहका थप व्यक्ति पक्राउ, नगदसहित लत्ताकपडा बरामद”



मोरङ, असार १८
प्रहरीको पहिचान बनाउँदै शरिर बन्धक बनाई नगद डकैती गर्ने गिरोहका थप एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट नगद रकमसहित घटनामा प्रयोग गरिएको लुगा पनि बरामद गरिएको छ।

घटना गत असार ११ गते बिहान ११:१५ बजे मोरङको विराटनगर–१५ निवासी २० वर्षीय बिक्रम कुमार साह तेलीलाई लक्षित गर्दै भएको थियो। साहले बैंकमा जम्मा गर्नका लागि तीन लाख चौसठ्ठी हजार रुपैयाँ लिएर सिटी सफारीमा यात्रा गरिरहेका बेला रानीस्थित राइस मिल नजिकै रातो स्कुटरमा आएका तीन अपरिचित व्यक्तिहरूले आफुहरू जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी भएको भन्दै उनलाई स्कुटरको बीचमा राखेर जबरजस्ती नियन्त्रणमा लिए।

त्यसपछि उनीहरू पीडितलाई विराटनगर–१४, जतुवास्थित एकान्त स्थानमा लगेर डरत्रास देखाई साथमा रहेको सम्पूर्ण रकम लुटी फरार भएका थिए।

पीडितको जाहेरीपछि अनुसन्धान सुरु भएको थियो। सोही क्रममा असार १५ गते घटनामा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटरसहित दुई जना व्यक्ति –
१. समिर हुसेन (२४), विराटनगर–८ निवासी,
२. आशिफ अन्सारी (२७), विराटनगर–६ निवासी –
पक्राउ परेका थिए। उनीहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।

अनुसन्धानको क्रममा घटनामा संलग्न तेस्रो व्यक्ति कुशल पाण्डे (२५), विराटनगर–११ निवासीलाई पनि असार १८ गते पक्राउ गरिएको छ। उनको साथबाट एक लाख पचास हजार रुपैयाँ नगद र घटनाको बेलामा लगाएको कालो ट्र्याकसुट र ट्राउजर बरामद गरिएको प्रहरीले जनाएको छ।

कुशल पाण्डे पूर्वमा विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको खुलेको छ। उनीमाथि यसअघि इलाका प्रहरी कार्यालय रानीमा ज्यान मार्ने उद्योग (मन्जु तामाङको जाहेरी), जिल्ला प्रहरी कार्यालय मोरङमा ज्यान मार्ने उद्योग (स्माइल साफीको जाहेरी) र अभद्र व्यवहार (प्रवेज आलमको जाहेरी) सम्बन्धी मुद्दा दर्ता भइसकेको अभिलेख प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्