
पोखरा, असार १८ –
गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको पहिलो दिन कास्की र नवलपुरले आफ्नो-आफ्नो खेलमा शानदार जित हात पारेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डिङ च्याम्पियन स्याङ्जालाई ४ रनले पराजित गर्दा नवलपुरले पर्वतमाथि एकतर्फी ४६ रनको विजय दर्ता गर्यो।

कास्कीको रोमाञ्चक जित: स्याङ्जालाई ४ रनले हरायो
टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। रेखा तामाङले ३३ रन (३ चौका) र सिर्जना पौडेलले ३५ रन (१ चौका) जोड्दै टिमलाई सशक्त स्कोरसम्म पुर्याउन मद्दत गरे।
९६ रनको लक्ष्य पछ्याएको स्याङ्जा निर्धारित ओभरमा ९१ रनमै समेटियो। सिमाना केसीले ३१ रन र कुशुम गोदारले १७ रन जोडिन्। कास्कीका तर्फबाट सुशिला डिम्टुक र चन्द्रमाया बरालले समान २ विकेट लिए भने रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १/१ विकेट लिए।
स्याङ्जाका बलर सिमाना केसीले ४ ओभरमा ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
नवलपुरको प्रभावशाली खेल: पर्वतलाई ४६ रनले पराजित
दोस्रो खेलमा नवलपुरले टस जितेर पहिले ब्याटिङ गर्दै १५.४ ओभरमा ७६ रनमा सबै विकेट गुमायो। धनकुमारी क्षेत्रीले ३२ रन जोडिन् भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
७७ रनको लक्ष्य लिएर मैदान उत्रिएको पर्वत ९.५ ओभरमै मात्र ३० रनमा समेटियो। नवलपुरकी आयुषा चापागाईंले घातक बलिङ गर्दै ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिँदै ‘वुमन अफ दी म्याच’ घोषित भइन्। साथमा पुर्णिमा सुनारले २ विकेट र श्रेया शर्माले १ विकेट लिए।
पर्वतका लागि प्रतिभा खड्काले ९ रन बनाइन् भने अन्य सबै ब्याटर सस्तोमा आउट भए। बलिङतर्फ प्रतिभा खड्का र कृषा अखेलीले २/२ विकेट लिए भने अनुसा पौडेल, जविका क्षेत्री र सुशिला भट्टराईले १/१ विकेट लिएका थिए।
तीन दिनसम्म चल्ने प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर र पर्वत गरी चार जिल्लाले सहभागिता जनाएका छन्।





