अवैध ओलम्पिक कमिटीको गतिविधिप्रति युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको गम्भीर ध्यानाकर्षण



काठमाडौं, असार १८ ।
सन २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची र नागोयामा आयोजना हुने २० औं एशियाली खेलकुद प्रतियोगितासँग सम्बन्धित विषयमा युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अध्यक्ष तेजुलाल चौधरीको गम्भीर ध्यानाकर्षण भएको छ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै, नेपाल सरकारले अवैध घोषणा गरिसकेको जीवनराम श्रेष्ठ नेतृत्वको अवैध नेपाल ओलम्पिक कमिटी (NOC) ले प्रतियोगितामा सहभागिता गराउने नाममा खेलाडी सूची संकलन गर्न खोज्नु गैरकानुनी रहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल ओलम्पिक कमिटीको नाममा लेटरप्याड र छाप दुरुपयोग गरेर गरिएको पत्राचारको कुनै कानुनी हैसियत छैन। मन्त्रालय तथा राखेपले यस्ता पत्रलाई मान्यता दिन सक्दैन।” साथै, प्रतियोगिता आयोजकबाट हालसम्म आधिकारिक सूची दर्ताको लागि कुनै पत्र प्राप्त नभएको जानकारी दिइएको छ।

मन्त्रालयका अनुसार, २०८२ असार १६ गतेसम्ममा कानुनी हैसियत प्राप्त ३१ वटा खेल संघहरूले नियमानुसार आफ्नो सूची सम्बन्धित निकायमा दर्ता गराइसकेका छन्। “खेल र खेलाडीको विकासप्रति मन्त्रालय सदैव सकारात्मक छ। यस्ता प्रतियोगितामा सहभागिता रोक्ने पक्षमा नेपाल सरकार कहिल्यै छैन,” विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले खेल संघ, खेलाडी र सार्वजनिक सबै पक्षलाई भ्रामक प्रचारप्रति सतर्क रहन र गलत सूचना नफैलाउन आग्रह गर्दै स्पष्ट पारेको छ कि कानुनी प्रक्रिया अनुरूप मात्र सहभागिता सुनिश्चित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्