शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डेभलप्मेन्ट प्रोग्राममा सहभागी, फ्रान्सबाट युरोप टेनिस यात्रा सुरु



काठमाडौँ, असार १७ –
नेपाली टेनिस खेलाडी शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डेभलप्मेन्ट प्रोग्राम (GSPDP) अन्तर्गत “टेनिस टु युरोप” टुरमा सहभागी हुन आज फ्रान्स प्रस्थान गरेकी छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई शुभकामना दिँदै बिदाइ गरेका हुन्।

१४ वर्षमुनिको उमेर समूहमा प्रतिस्पर्धा गर्ने गुरुङले जुलाई १४–२० मा फ्रान्समा हुने “ओपन स्टेट फ्राकाइस”, जुलाई २१–२७ मा हुने टेनिस युरोप, जुलाई २८ देखि अगस्ट ३ सम्म जर्मनीमा आयोजना हुने “इन्टरनेश्नल डेउटसी” तथा अगस्ट ४–१० मा बेल्जियममा आयोजना हुने “योङ च्याम्पियनशिप कप” मा भाग लिनेछिन्।

शिवाली गुरुङ यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता श्रृंखलामा सहभागी हुने पहिलो नेपाली खेलाडी बनेकी छन्। प्रशिक्षक प्रदीप खड्काका अनुसार, यो नेपालका लागि ऐतिहासिक अवसर हो। एशियन च्याम्पियनशिपमा पहिलो स्थान हासिल गरेकी गुरुङ हाल १४ वर्षमुनिको एसियाली र्‍याङ्किङमा चौथो स्थानमा छन्।

बिदाइ कार्यक्रममा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठ, प्रशिक्षकहरू प्रदीप खड्का र राजकुमार लामा समेत सहभागी थिए।


दुई नेपाली उसु खेलाडी एशिया कपका लागि चीन प्रस्थान

काठमाडौँ, असार १७ –
चीनको चिलिङ शहरमा जुलाई २ देखि ७ सम्म आयोजना हुने एशिया कप उसु प्रतियोगिताका लागि दुई नेपाली खेलाडी दीपक हमाल र शिवजी सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार शुभकामना सहित बिदाइ गरेका छन्।

थाउलु विधामा दीपक हमालले प्रतिस्पर्धा गर्ने छन् भने ९० केजी मुनिको सान्ता विधामा शिवजी सिलवाल सहभागी हुनेछन्। बिदाइ कार्यक्रममा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठ पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्