
काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। साहसिक यात्रा मार्फत प्रेरणादायी सन्देश दिने उद्देश्यले उनले यो आरोहण गरेका हुन्। अब उनले सगरमाथाको आरोहण गर्ने लक्ष्य राखेका छन्।

बेलायतमा व्यवसायिक र सामाजिक रूपमा क्रियाशील अनुग्रह ग्रुप अन्तर्गत अनुग्रह ज्वेलर्स, न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलिन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउण्डेशनजस्ता विभिन्न संस्थाहरू सञ्चालनमा छन्।
‘गोर्खा वारियर’ चलचित्र पूर्व गोर्खा सैनिक तथा निर्माता-निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण गरिएको हो। सुमन राईले यस चलचित्रको बेलायतको लिसेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवल्र्डमा ऐतिहासिक प्रिमियर प्रदर्शन गर्दै नेपाली चलचित्र क्षेत्रमा एउटा विशेष किर्तिमान पनि बनाएका थिए।
सामाजिक उत्तरदायित्वप्रति पनि समर्पित अनुग्रह फाउण्डेशनले आफ्नो आम्दानीको १० प्रतिशत शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध, बालबालिका र ग्रामीण विकासमा लगानी गर्दै आएको छ। “शून्यदेखि सगरमाथासम्म” भन्ने नाराका साथ सुरु गरिएको सुमन राईको अभियान अब सगरमाथा आरोहण र वातावरणीय सचेतना अभिवृद्धिमा केन्द्रित हुनेछ।
‘Fundrise Social Campaign’ अन्तर्गत यो अभियानले जलवायु परिवर्तनबारे चेतना फैलाउने, वातावरण संरक्षण गर्ने र भावी पुस्ताका लागि सुरक्षित पृथ्वी निर्माणमा योगदान दिने लक्ष्य राखेको छ। अभियानमा अनुग्रह टिमका शुभेच्छुकहरूसँगै NCCA UK, NCC UK, तमु धिं UK, किरात राई यायोख्खा, खोटाङ समाज, थुलुङ राई समाज लगायत विभिन्न प्रवासी नेपाली संस्थाहरूको सक्रिय समर्थन र सहभागिता रहेको छ।