
काठमाडौँ, असार १६ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अमेरिकी कम्पनी ‘आइटी सुत्र इन्क’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
टेक्सासमा मुख्यालय रहेको यो प्रविधि कन्सल्टिङ कम्पनीले ११ वर्षदेखि नवप्रवर्तनमूलक समाधानहरू प्रदान गर्दै आइरहेको छ। कम्पनीले किरणलाई आगामी ३ वर्षका लागि ३० लाख रुपैयाँ बराबरको सम्झौतासहित ब्रान्ड एम्बेसडर बनाएको हो।
कम्पनीका सिइओ पंकज श्रेष्ठले किरणको अनुशासन, समर्पण र अन्तर्राष्ट्रिय छविले प्रविधि र खेलकुदको सेतुको रूपमा काम गर्ने विश्वास व्यक्त गरे। श्रेष्ठले भने, “किरण केवल फुटबलमै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाका पात्र हुन्।”
कम्पनीले भविष्यमा सञ्चालन गर्ने ब्रान्ड अभियान, युवा लक्षित तालिम कार्यक्रम, डिजिटल प्रस्तुति र सामाजिक गतिविधिमा किरणको सक्रिय सहभागिता रहनेछ।
हाल अमेरिका भ्रमणमा रहेका किरण नेपाली राष्ट्रिय टोलीबाट १०० खेल पूरा गर्ने पहिलो खेलाडी हुन्। उनले भारत, माल्दिभ्स लगायतका देशमा व्यावसायिक फुटबल खेलेका छन् भने, थ्री स्टार क्लब, मच्छिन्द्र क्लब र नेपाल सुपर लिगको धनगढी एफसीबाट पनि प्रतिनिधित्व गरिसकेका छन्।





