
काठमाडौं, असार १५
विश्वकै पहिलो कृषि रियालिटी गेम शो रः रिभोलुशनरी एग्रीकल्चर वार द्वारा असार १५, राष्ट्रिय धान दिवसको अवसरमा गोदावरीको लेलेमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली सिनेमाका महानायक तथा शोका महाहोस्ट राजेश हमालको विशेष उपस्थिति रहेको थियो।

धान रोपाईंदेखि ड्रोन प्रदर्शनीसम्म
गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा धान रोपाईं, टग अफ वार, स्थानीय सांस्कृतिक गीत-नृत्य, धिमे बाजा लगायत विविध कार्यक्रम प्रस्तुत गरियो। साथै, मुक्तिनाथ कृषि कम्पनीका प्राविधिक टोलीले ड्रोनमार्फत तरल मल छर्ने प्रविधिको प्रदर्शन गर्दै आधुनिक कृषिप्रति सन्देश पनि दिए।

व्यक्तित्वहरूको सक्रिय सहभागिता
कार्यक्रममा गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नं १० अध्यक्ष शेखर न्यौपाने, कार्यपालिका सदस्य उमा महत, ईसीमोडबाट डा. टाशी शेर्पा, मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
कृषिमा सेलिब्रिटीको जोड
कार्यक्रमका निर्देशक शैलेश कँडेल क्षेत्रीले ‘किसानलाई सेलिब्रिटी बनाउने’ लक्ष्यसहित कार्यक्रम अघि बढेको बताउँदै, प्रत्येक वर्ष मनोरञ्जन र जागरणको संयोजनमार्फत धान दिवस मनाउने योजना रहेको जानकारी दिए। महानायक राजेश हमालले पनि युवाहरू कृषिप्रति विमुख हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै कृषिमा पुनः लगाव जगाउन यस्ता कार्यक्रमको आवश्यकता औंल्याए।
गेलो वर्षदेखि सुरु भएको कार्यक्रम
गत वर्ष असार १५ कै दिन ललितपुरको खोकनाबाट आवेदन खुला गरिएको रः रियालिटी गेम शो मा ७७ जिल्लाबाट १६८२ जनाको आवेदन प्राप्त भएको थियो। तिनीहरूमध्ये १०० जनालाई अन्तरवार्ता, तालीम तथा जनसम्पर्क कार्यक्रममार्फत छनोट गरिएको थियो। त्यसबाट छानिएका १२ किसान र १२ कृषि प्राविधिकको सहभागितामा कार्यक्रमको छायाङ्कन शंखरापुर नगरपालिकाको कात्तिकेमा गरिएको हो।

प्रसारण तयारीमा
कृषि रियालिटी गेम शो रः का ६ एपिसोड हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत भदौ महिनाबाट प्रसारण हुने आयोजकले जानकारी दिएका छन्।





