नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, ओलम्पियनलाई मासिक भत्ताको घोषणा



चितवन, असार १५

नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। आज चितवनमा सम्पन्न साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। विष्ट यसअघि पनि अध्यक्ष पदमा थिए।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रविण तुलाधर र देबु थापा, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा विष्णुबहादुर सिंह, मुकुन्द हरि श्रेष्ठ, टिकाराम श्रेष्ठ, भगवती केसी, विमला रानामगर, राजकुमारी पाण्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ छन्।

सभाको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका थिए। कार्यक्रममा महासचिव भण्डारीले प्रस्तुत गरेको वार्षिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

साधारण सभाले ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई निरन्तरता दिने, ओलम्पियनहरूको विवरणसहित पुस्तक प्रकाशन गर्ने तथा प्रत्येक ओलम्पिकपश्चात पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ।

मासिक भत्ताको घोषणा

कार्यक्रमको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो प्रदेशका ओलम्पियनहरूलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरे।
स्कुल टु ओलम्पिकको समापन र चौथो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन्।
गण्डकी प्रदेशले दुई वर्षदेखि मासिक भत्ता प्रदान गर्दै आएको छ भने सुदूरपश्चिम प्रदेशले हालै मात्र भत्ता दिने निर्णय गरेको छ।

ओलम्पियनको सम्मान

कार्यक्रममा सन् १९९२, १९९६ र २००० को ओलम्पिकमा सहभागिता जनाएका अनिता श्रेष्ठ, सिताराम शाही, विमला राना मगर, भगवती खत्री, र ज्ञानबहादुर बोहोरालाई सम्मान गरिएको थियो।
१९९६ का दिवंगत ओलम्पियन सुनिललाल जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो।

मुख्यमन्त्री लामा, मन्त्री महर्जन, प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव दीपक लामा र अध्यक्ष विष्टले ओलम्पियनहरूलाई सम्मान गरेका थिए।

पेरिस ओलम्पिकका खेलाडीलाई प्रमाणपत्र

अध्यक्ष विष्ट र कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले पेरिस ओलम्पिकमा सहभागी हुन लागेको सातमध्ये तीन खेलाडी — एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान, र ब्याडमिन्टनका प्रिन्स दाहाललाई ओएलवाईको पिन र प्रमाणपत्र प्रदान गरेका थिए।

स्कुल टु ओलम्पिक समापन

कार्यक्रमको दिन बिहान स्कुल टु ओलम्पिकको समापन अवसरमा वाकाथन आयोजना गरिएको थियो।
सौराहाको हात्तीचोकदेखि रिभरसाइडसम्म आयोजित वाकाथनमा मुख्यमन्त्री लामा, मन्त्री महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता थियो।

चार वर्षअघि कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम शनिबारको समापनसँगै महत्वपूर्ण चरणमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्