
काठमाडौं, असार १५
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले आफ्नो प्रमुख खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई टिममा कायम राख्ने घोषणा गरेको छ।
आइतबार जारी विज्ञप्तिमा franchise टोलीले भुर्तेलसँगै सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई पनि दोस्रो संस्करणमा निरन्तरता दिने जनाएको हो। भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलिङ लाइनअपमा योगदान दिने बलर हुन्। ठगुन्ना, खरेल र दास भने ब्याटिङ विभागका खेलाडी हुन्।
साथै, एभेन्जर्सले पहिलो संस्करणमा रहेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्याललाई टिमबाट रिलिज गरेको छ।
एनपीएलको पहिलो संस्करणमा सबैभन्दा महँगो टिमको रूपमा चिनिएको पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले दोस्रो सिजनलाई भव्य बनाउने उद्देश्यले चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी भइरहेको जानकारी दिए। ‘हामी प्रसिद्ध अन्तर्राष्ट्रिय खेलाडीहरूसँग कुराकानी गरिरहेका छौं। बलियो टिम बनाउने र एनपीएलको स्तर उकास्ने हाम्रो प्रयास छ,’ त्रिपाठीले बताए।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरअनुसार एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बरमा हुने अनुमान छ, तर हालसम्म औपचारिक मिति भने तय गरिएको छैन।





