रसिलाको ऐतिहासिक जित : माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि हात पारिन्



काठमाडौँ, असार १५ गते

नेपाली अल्ट्रा धाविका रसिला तामाङले म्यानमारमा आयोजित माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन्। आइतबार सम्पन्न ५० किलोमिटरको दुरी रहेको ट्रेल रनमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै ओभरअल विजेता बन्न सफल भइन्।

सन् २०२३ मा एसिया ट्रेल मास्टर्स महिला च्याम्पियन बनेर इतिहास रचेकी रसिलाले यो दौड ६ घन्टा १८ मिनेट ५१ सेकेन्डमा पूरा गरिन्। उनले यसपालिको जितमा समेत उत्कृष्ट प्रदर्शन गर्दै पुरुष वर्गका धावकहरूलाई पनि उछिनेकी हुन्।

उनको जितसँगै कोरोस ब्रान्डको स्मार्ट घडी र अन्य आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। सोही दौडमा पुरुषतर्फ पाइङ ओलेले सात घन्टा ३८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरे।

महिला तर्फ दोस्रो स्थानमा यीयी ९ घन्टा ९ सेकेन्डमा दौड पूरा गरेर रहिन् भने तेस्रो स्थान साराह सेङले हासिल गरिन्। पुरुष वर्गमा ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो भए।

यस ऐतिहासिक जितसँगै रसिलाले आगामी अक्टोबर ४ मा भियतनाममा आयोजना हुने एशिया ट्रेल मास्टर्स (ATM) च्याम्पियनसिप फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी छन्। जितपछि उनले आयोजकप्रति कृतज्ञता व्यक्त गर्दै दौड व्यवस्थित र चुनौतीपूर्ण भएको प्रतिक्रिया दिइन्।

प्रतिक्रिया दिनुहोस्