लालीगुराँस एकेडेमीबाट खेलाडी र प्रशिक्षक सम्मानित



काठमाडौं, असार १४ – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडी र ३ प्रशिक्षकलाई लालीगुराँस नेसनल एकेडेमीले सम्मान गरेको छ।
सामाखुसीमा आयोजित कार्यक्रममा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन र प्रिन्सिपल गोपाल बुढाथोकीले संयुक्त रूपमा सम्मान गरेका थिए।

एथलेटिक्सतर्फ अनिषा थारुले चार स्वर्ण र एक रजत जित्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन्। अन्य पदक विजेता खेलाडीहरूमा दिना गोपाली, भगवती खड्का, अस्मिता भुजेल, अविनाश सुनार, सन्तबहादुर दराई, नीरज शाह, दीपेन्द्र गिरी, शर्मिला विक र अनु मोक्तान रहेका छन्।
प्रशिक्षक सीताराम चौधरी, देवी बस्नेत (एथलेटिक्स) र सुवास मगर (उसु) लाई पनि सम्मान गरिएको थियो।

साथै उज्बेकिस्तानको तास्केन्दमा जारी २९औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिप अन्तर्गत यू–१९ ब्वाइज टिम इभेन्टमा नेपाल मलेसियासँग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले यसअघि साउदी अरेबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्