
काठमाडौं, असार १२ — नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि तामेलीमा रहेको पुरानो मुद्दा पुनर्जीवित गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले २०६९ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको मुद्दा अहिले ब्यूँताउनुको कुनै स्पष्ट कारण नभएको दाबी गरे।
“अख्तियारसँग पनि जवाफ छैन”
“०६९ मा तामेलीमा राखिएको मुद्दा अहिले किन उठाइयो भन्ने जवाफ अख्तियारसँग पनि छैन,” खतिवडाले भने, “माधव नेपालजस्तो व्यक्तिलाई प्रतिवादी बनाउने निर्णय अख्तियारले एक्लैले गरेको होला भन्ने विश्वास लाग्दैन।”
उनले मुद्दाको पुनरुत्थानलाई राजनीतिक षड्यन्त्रको हिस्सा ठहर गर्दै भने, “राजनीतिमा बुनिएको षड्यन्त्रको जालोभित्र माधव नेपाललाई प्रयोग गरी सत्ताले संरक्षणमा बसेर प्रतिशोध लिएको छ।”
“अदालतप्रति भरोसा कायम रहोस्”
खतिवडाले अदालतप्रति आभार प्रकट गर्दै धरौटीमा रिहा भएको घटनालाई न्यायिक स्वतन्त्रताको उदाहरणका रूपमा व्याख्या गरे। “हिजोमात्रै माधव नेपाललाई षड्यन्त्रका बाबजुद धरौटीमा रिहा गरिएकोमा अदालतलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।
“नैतिक छविमा प्रहार गर्न खोजिएको”
माधव नेपाललाई ‘सादा जीवन, इमानदार छवि र राष्ट्रिय व्यक्तित्व’ भएको नेता भन्दै खतिवडाले भ्रष्टाचारको कुनै दाग नरहेको अवस्थामा पतञ्जली योग पीठ सम्बन्धी मुद्दा अघि सारिएको आरोप लगाए।
“इमानदार छविलाई बिगार्नका लागि केही व्यक्तिहरू र संस्थाहरू प्रयोग भएका छन् भन्ने प्रमाण घटनाक्रमले दिएको छ,” उनले दाबी गरे। पतञ्जलीलाई मन्त्रिपरिषद्को नीतिगत निर्णयमार्फत अतिरिक्त जमिन दिनु भूमिसम्बन्धी ऐनअनुसार भएको तर्क पनि उनले प्रस्तुत गरे।
संविधान संशोधनको औचित्यमाथि प्रश्न
राजनीतिक स्थायित्वसम्बन्धी प्रश्न उठाउँदै खतिवडाले जसपा नेपालको समर्थन फिर्तापछि सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको स्मरण गराए। “सरकारले संविधान संशोधनको एजेण्डा अघि बढाउने वैधानिक आधार गुमाइसकेको छ,” उनले भने।
बजेटमा ढुकुटीको दुरुपयोगको आरोप
उपाध्यक्ष खतिवडाले हालैको बजेट विनियोजनप्रति असन्तोष प्रकट गर्दै सरकारले ढुकुटीको दुरुपयोग गरेको आरोप लगाए। “केही जिल्लामा मात्रै बजेट खन्याएर विशेष नेताहरूले राष्ट्रको ढुकुटी प्रयोग गरेका छन्,” उनले बताए। संसद्मै सांसदहरूले बजेट पुस्तिका च्यात्नु र कार्यकारी नेतृत्वलाई गाली गर्नु यसको दुष्परिणाम भएको उनको भनाइ थियो।





