सामाजिक सञ्जालमार्फत ठगी र क्रिप्टो कारोबारमा संलग्न दुई जना पक्राउ



काठमाडौं, असार ११ – सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ ठगी गर्ने र १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबारमा संलग्न दुई जना युवा पक्राउ परेका छन्।

समिर तामाङ नामको एकाउन्ट प्रयोग गरी फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत विदेशस्थित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने र अनलाइन रोजगारी उपलब्ध गराउने जस्ता प्रलोभनपूर्ण पोस्टमार्फत पीडितहरूलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरिएको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौंको माइतिघरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुई युवामाथि प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेंसी) कारोबारमा समेत संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान जारी रहेको छ।

पक्राउ परेका व्यक्तिहरू:

  • समिर तामाङ (उमेर १९), स्थायी ठेगाना: थाक्रे गाउँपालिका–५, धादिङ; हाल बसोबास: कागेश्वरी मनोहरा नगरपालिका–६, काठमाडौं
  • क्रिस पोखरेल (उमेर १९), हाल बसोबास: गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल, काठमाडौं
प्रतिक्रिया दिनुहोस्