
पोखरा, असार १४
पोखरामा सम्पन्न गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले हात पार्न सफल भएको छ। पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा शनिबार भएको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३१–१७ ले पराजित गर्दै उपाधि चुमेको हो।
यो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुदपछि महिला ह्याण्डबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिएको छ। विजेता बनेको एपिएफले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आर्मीले ५० हजार रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै तेस्रो स्थान हासिल गर्दै ३० हजार रुपैयाँ जित्यो। चौथो स्थानमा सीमित गण्डकीले २० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिता असार १२ देखि १४ गतेसम्म सञ्चालन भएको हो। लिग कम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो। सहभागी टिमहरूमा आयोजक गण्डकीसहित बागमती, मधेश, लुम्बिनी, कर्णाली प्रदेश र विभागीय टोली एपिएफ तथा आर्मी रहेका थिए।
सेमिफाइनलमा एपिएफले कोशीलाई २३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने आर्मीले गण्डकीलाई २१–१२ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक तथा शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षकको रूपमा घोषित भए।
पुरस्कार वितरण कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, ह्याण्डबलका पूर्व मुख्य प्रशिक्षक हिमाल दाहाल, एपिएफ नं ४ बाहिनीपति डिआइजी दीपेन्द्र शाह, बुल्समेन क्लबका सचिव उदिम गुरुङ, भूपू खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ र नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा सम्पन्न भएको हो भने सह–प्रायोजकको भूमिकामा बुल्समेन क्लब र प्राविधिक सहयोग जिल्ला ह्याण्डबल संघ कास्कीको रहेको थियो।





