
मोरङ, असार १२ – मोरङको विराटनगरबाट चोरी भएको मोटरसाइकल फेला पार्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत जेठ २८ गते दिउँसो साढे १२ बजेतिर विराटनगर महानगरपालिका–२ स्थित हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरिएको को ३९ प ४१५० नम्बरको होण्डा साइन मोटरसाइकल चोरी भएको थियो। प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा असार १२ गते साँझ ५ बजे मोरङको कटहरी गाउँपालिका–१ मा ती मोटरसाइकल किसन चौधरीको साथमा फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चोरको आरोपमा पक्राउ परेका व्यक्ति मोरङ बेलबारी नगरपालिका–६ निवासी ३७ वर्षीय किसन चौधरी हुन्। उनलाई नियन्त्रणमा लिएर चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





