
विराटनगर, असार १२ – विराटनगर क्षेत्रमा असहाय तथा वृद्ध मानिसहरूलाई लक्षित गरी सवारी साधनमा यात्रा गर्ने क्रममा गरगहना र नगद चोरी गर्ने भारतीय महिला गिरोह पक्राउ परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले प्राप्त विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा मिति २०८२ असार १२ गते दिउँसो २:३० बजे कटहरीतर्फ गइरहेको सिटी सफारी बुधहाटमा रोकी जाँच गरेको थियो। उक्त सवारीमा सवार एक वृद्ध र तीन जना महिलामाथि संकास्पद गतिविधिका कारण चेकजाँच गर्दा तीनै महिलाको साथबाट जनही रु. १००० दरको एक-एक गड्डी गरी कुल रु. ३ लाख नगद बरामद गरिएको हो।
अनुसन्धानका क्रममा ती महिलाहरूले सवारीमा सँगै यात्रा गरिरहेका मोरङ कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायण प्रसाद काफ्लेले बैंकबाट झिकेको रकमको झोलाबाट चोरी गरेको स्वीकार गरेका छन्। काफ्ले बिरामी अवस्थामा उपचारपछि घर फर्किंदै गर्दा चोरी भएको थियो।
प्रहरीले घटनामा संलग्न तीनै जना महिलाहरूलाई नियन्त्रणमा लिई चोरी मुद्दामा प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका महिलाहरूको विवरणः
१. प्रियंका धामी, २४ वर्ष, भारत, पूर्णिया।
२. बिहोला धामी, २५ वर्ष, भारत, पूर्णिया।
३. अटकारी धामी, २० वर्ष, भारत, पूर्णिया।





