नेपाल यु–१९ टेबलटेनिस टोली प्रिक्वाटरफाइनलमा



काठमाडौं, असार १३ – नेपालले उज्वेकिस्तानको तास्कन्दमा जारी २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनल यात्रा तय गरेको छ।

समूह १ अन्तर्गतको खेलमा नेपालले साउदी अरेबियालाई ३–१ ले पराजित गर्दै समूह उपविजेता बन्ने क्रममा ३ अंक बटुल्दै अन्तिम १६ मा स्थान बनाएको हो। टोली प्रमुख ज्याकी महर्जनका अनुसार नेपालले प्रिक्वाटरफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको टोलीमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल छन्। सोही समूहमा रहेको भारतले नेपाल र साउदी दुवैलाई पराजित गर्दै समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ।

टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले यस उपलब्धिलाई नेपाली टेबलटेनिस इतिहासकै एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्