स्वस्थ शरीर र शान्तिका लागि नेपालमा भव्यताका साथ ओलम्पिक डे २०२५ मनाइयो



काठमाडौं, असार ९

नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। प्रत्येक वर्ष जुन २३ मा मनाइने यो दिवसलाई नेपालमा पनि विशेष कार्यक्रम गरी मनाउने गरिन्छ।

यस अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक, पत्रकार र खेलप्रेमीहरू स्वयम्भू स्तुपा हारती माताको दक्षिण भागमा भेला भई वृहत र्‍यालीमा सहभागी भए। कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेको उक्त र्‍याली डल्लुस्थित कभर्ड हल पुगेर सम्पन्न भयो। र्‍यालीसँगै साइक्लिङ कार्यक्रम पनि आयोजना गरिएको थियो।

डल्लु कभर्ड हलमा आयोजित विशेष समारोहमा कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे संयोजक अशोक वज्राचार्यले राष्ट्रिय झण्डा र अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक झण्डा फहराएका थिए।

समारोहमा महासचिव राजीव श्रेष्ठले ओलम्पिक डे कुनै एक मितिमा सीमित नभई जीवनशैली परिवर्तन गर्ने आन्दोलन भएको बताए। उनले भने, “ओलम्पिक आन्दोलनले हामीलाई खेलमा संलग्न गराउँदै सक्रिय र स्वस्थ जीवन जिउन प्रेरित गर्छ।”

अध्यक्ष श्रेष्ठले पनि ओलम्पिक भावनाले सबैलाई एकताको सन्देश दिन्छ भन्ने उल्लेख गर्दै भने, “ओलम्पिक डे स्वस्थ शरीर र शान्तिको प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण अवसर हो।”

कार्यक्रममा कराँते, उसु, जोडो र बि-बोइङ नृत्य प्रदर्शनी गरिएको थियो भने ग्यालेक्सी स्कुलका विद्यार्थीहरूले समेत सांस्कृतिक प्रस्तुति दिएका थिए। ओलम्पिक डेमा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो।

नेपाल ओलम्पिक कमिटी, यसअन्तर्गतका विभिन्न संघ-संस्था तथा खेल संगठनहरूको सहकार्यमा विविध कार्यक्रम सम्पन्न गरिंदै ओलम्पिक डे २०२५ भव्य रूपमा मनाइएको हो।

प्रतिक्रिया दिनुहोस्