
काठमाडौं, असार १०
एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९औं संस्करणमा सहभागी हुन ८ सदस्यीय नेपाली टेबलटेनिस टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्न लागेको छ। प्रतियोगिता असार १२ देखि १८ गतेसम्म सञ्चालन हुनेछ।
टोलीमा पुरुषतर्फ प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलातर्फ योङगी पौडेल, वियंका राई र इभाना थापा सहभागी छन्। टोली प्रमुखको जिम्मेवारी ज्याकी महर्जनले सम्हाल्ने छन् भने प्रशिक्षकको भूमिकामा मोहनदास बासुकला रहने छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे। सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो।





