
मोरङ, असार १० – सिटी सफारीमा छुटेको नगद र मोबाइलसहितको झोला प्रहरीको प्रयासमा फेला पारिएको छ।
मिति २०८२/०३/०८ गते दिउँसो १२:३० बजे जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०००२ ह ३९३० नम्बरको सिटी सफारीमा यात्रा गरिरहेका विराटनगर–५ निवासी ८० वर्षीय ईश्वरप्रसाद उपाध्याय जानकी चोकमा ओर्लने क्रममा खैरो रङको झोला सवारीसाधनमै छुटेको थियो। उक्त झोलामा नगद रुपैयाँ ७७,५००, एउटा आइफोन मोबाइल र विभिन्न कागजातहरू रहेको उपाध्यायले वडा प्रहरी कार्यालय विराटनगरमा निवेदन दिएपछि खोजी कार्य अघि बढाइएको थियो।
वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा सिसिटिभी फुटेजको माध्यमबाट सवारी साधन पहिचान गर्दै झोलासहितको सिटी सफारी नियन्त्रणमा लिएको हो। झोलासहित फेला परेका चालक विराटनगर–६ मरोचिया निवासी २७ वर्षीय हरिष साह रहेको खुलेको छ।
झोला फेला पारिएपछि त्यसमा रहेका सामग्रीहरू सहित मिति २०८२/०३/०९ गते सम्बन्धित धनी ईश्वरप्रसाद उपाध्यायलाई सुरक्षित रूपमा जिम्मा दिइएको प्रहरीले जनाएको छ।
फेला परेका सामग्रीहरूको विवरणः
१) खैरो रङको ह्यान्डब्याग – १ थान
२) नगद नेपाली रुपैयाँ ७७,५००
३) आइफोन मोबाइल – १ थान





