
काठमाडौं, असार ९
साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को आयोजनामा जारी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक र केभीकेएसएसले गल्र्सतर्फ क्वाटरफाइनलमा स्थान बनाएका छन्।
भ्याली पब्लिकले वारियर्सलाई १५–११ र बलर्सलाई १७–११ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो भने केभीकेएसएसले मनास्लु, त्रिज्योति र जेबी स्कुललाई हराएर क्वाटरफाइनलमा पुगेको हो।
गल्र्स समूहमा अन्य क्वाटरफाइनलिस्टहरूमा वारियर्स, एनसीसीएस ‘ए’ र ‘बी’, एस्ट्रो बल्स, ल्यान्डमार्क र त्रिज्योति रहेका छन्। ब्वाइजतर्फ भ्याली पब्लिक, मनास्लु ‘ए’ र ‘बी’, एनपी लायन्स, जेबी स्कुल, जीबीसीए, स्किब्स लगायत १६ टिम प्रिक्वाटरफाइनलमा पुगेका छन्।
विजेता टोलीले १५ हजार नगदसहित छात्रवृत्ति पाउनेछ भने उपविजेताले १० हजारसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्। प्रतियोगिता असार १० गते मंगलबार सम्पन्न हुनेछ।





