अमेरिकामा उमा कुङफु खेलाडी कमल मगरलाई नगदसहित विशेष सम्मान



काठमाडौं, असार ९

नेपालका चर्चित उमा कुङफु खेलाडी कमल मगरलाई अमेरिकामा नगदसहित विशेष सम्मान गरिएको छ। नेपालमा उमा कुङफुको विकासमा योगदान पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा पदक जितेर देशको नाम उजागर गरेवापत उनलाई न्यूयोर्कमा सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री र सिद्धार्थ लामालगायतले संयुक्त रूपमा कमललाई २ लाख ७४ हजार रुपैयाँ नगद प्रदान गरे। न्यूयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लब, युएसएले आयोजना गरेको कार्यक्रममा कमललाई प्रशंसा पत्र पनि प्रदान गरियो।

त्यस अवसरमा न्यूयोर्क स्टेट एसेम्बलीका सदस्य स्टेवन वी. रागाले ‘सर्टिफिकेट अफ मेरिट’ तथा क्विन्स बरो अध्यक्ष डोनेभान रिचार्डले ‘साइटेसन अफ अनर’ प्रदान गरे। सम्मानपछि कमलले यस्तो प्रेरणाले आफ्नो खेल जीवन अझ समर्पणका साथ अघि बढाउने बताए।

कमल मगरले अमेरिका, बेलायत, क्रोएसिया, थाइल्यान्ड, अष्ट्रियालगायतका मुलुकमा सम्पन्न विविध अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। उनले निर्णायकको भूमिकामा पनि भारत, ग्रीस लगायत देशमा प्रतिनिधित्व गरिसकेका छन्। चीनको साओलिन उसु स्कुलमा एक महिने विशेष प्रशिक्षण लिएर विभिन्न उन्नत विधामा दक्षता हासिल गरेका कमल हाल नेपाल उमा कुङफु संघका महासचिव पनि हुन्।

प्रतिक्रिया दिनुहोस्