केम्पो खेलाडी, प्रशिक्षक र रेफ्री तालिम सम्पन्न, अन्जना शाही सम्मानित



काठमाडौं, असार ८

नेपाली मार्सल आर्ट्स क्षेत्रको एक महत्वपूर्ण विधा केम्पोको खेल स्तर उकास्न उद्देश्यले दुई दिने खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी फेडेरेसन (AKKF) र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा तालिम ललितपुरको हात्तीवनमा सम्पन्न भयो।

“मार्सल आट्र्स मास्टरी, केम्पो लेगेसी” भन्ने नाराका साथ आयोजित तालिममा एक सय ५० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहेको थियो। तालिमको उद्देश्य खेलाडीहरूको प्राविधिक दक्षता, प्रशिक्षकहरूको प्रशिक्षण क्षमताको वृद्धि तथा रेफ्रीहरूको निर्णय क्षमतामा निखार ल्याउनु रहेको आयोजकले जनाएका छन्।

प्रशिक्षणमा अन्जना शाही, इन्द्र चित्रकार, राम क्षेत्री लगायत अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए। समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले केम्पो खेलको महत्वको चर्चा गर्दै यसको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले सन् २०२६ मा टर्कीमा हुने विश्व केम्पो च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता सुनिश्चित गर्न सक्दो सहयोग गरिने प्रतिवद्धता जनाए।

मन्त्री महर्जनले भने, “केम्पो नेपालमा नयाँ भए पनि यसले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको गौरव बढाइरहेको छ। यसको दीर्घकालीन विकासका लागि प्रदेश सरकार कटिबद्ध छ।”

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले पनि नेपाली केम्पो खेलको अन्तर्राष्ट्रिय उपलब्धिमा सन्तोष व्यक्त गर्दै यसको सुदृढीकरणमा निरन्तर सहयोग रहने बताएका थिए।

कार्यक्रमको विशेष क्षणमा, पोर्चुगलमा सम्पन्न पछिल्लो विश्व केम्पो च्याम्पियनसिपमा पदक विजेता बनेकी अन्जना शाहीलाई सम्मान गरिएको थियो। उनले उक्त च्याम्पियनसिपमा एक रजत र दुई कांस्य पदक जितेकी थिइन्। त्यस्तै, अर्का नेपाली खेलाडी विपेश थापाले चार पदक हात पारेका थिए।

उक्त तालिम तथा सम्मान कार्यक्रमले नेपाली केम्पोको उज्वल भविष्यको संकेत गरेको आयोजकहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्