
काठमाडौं, असार ९
अन्तर्राष्ट्रिय हाप्किडो प्रतियोगितामा भाग लिन नेपाल हाप्किडो संघका तीन सदस्यीय खेलाडी टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको छ। किर्गिस्तानको राजधानी बिश्केकमा असार १० र ११ गते आयोजना हुने प्रतियोगितामा नेपालका तर्फबाट समिर गुरुङ, राजेन्द्र तामाङ र सरोज गुरुङले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिता किर्गिस्तान हाप्किडो महासंघको आयोजनामा सम्पन्न हुँदैछ। नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरका अनुसार नेपाली टोली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित सहभागी हुँदैछ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक विशेष कार्यक्रममार्फत बिदाइ गरे। कार्यक्रममा घिसिङले टोलीलाई शुभकामना दिंदै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाउन सफल होस् भन्ने अपेक्षा व्यक्त गरे।





