
काठमाडौं, असार ८
बागमती प्रदेशका प्रभात कपाली र लुम्बिनी प्रदेशका विशेष बुढा मगरले दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगितामा आ–आफ्नो तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन्।
प्रभातले पुरुष ४८ केजी तौल समूहमा गण्डकीका ओमकार मगरलाई फाइनलमा हराउँदै उपाधि चुमेका हुन्। यस्तै, विशेषले ५१ केजी तौल समूहको उपाधिका लागि भएको फाइनल भिडन्तमा बागमतीका योमा मोक्तानलाई पराजित गरे।
नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा कलंकीस्थित नेसनल बिजनेस ट्रेड सेन्टरमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहमा पुरुषतर्फ अन्य विजेता निम्नानुसार छन् —
५४ केजीमा बागमतीका मंगेश महर्जन,
५७ केजीमा कोशीका जगदीश विश्वकर्मा,
६० केजीमा गण्डकीका गौरव भण्डारी,
६३.५ केजीमा कोशीका सुमन याखा,
६७ केजीमा बागमतीका रोनिश सुब्बा,
७१ केजीमा गण्डकीका मोसेस कुमाल,
७५ केजीमा बागमतीका सौरव लामा,
८१ केजीमा गण्डकीका जेसन श्रेष्ठ,
८६ केजीमा बागमतीका रेहान फाइजु,
र ९१ केजीमा बागमतीका श्रीयानसिंह शाक्यले स्वर्ण पदक जिते।
महिलातर्फ ४८ केजीमा नेपाल एपीएफ क्लबकी रिना माझी, ५१ केजीमा गण्डकीकी पूजा पाण्डे, ६० केजीमा बागमतीकी त्रिसरा गुरुङ र ६३.५ केजीमा गण्डकीकी धनकुमारी आले च्याम्पियन बने।
दुईदिने प्रतियोगितामा सुदूरपश्चिम बाहेकका ६ प्रदेश र नेपाल एपीएफ क्लबबाट गरी जम्मा ८७ खेलाडीले सहभागिता जनाएका थिए। विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिसहितका विशिष्ट व्यक्तिहरूले पुरस्कार वितरण गरे।





