एसडब्लुएससी एसइइ बास्केटबल प्रतियोगिता सोमबारदेखि, ५० टिमको सहभागिता




काठमाडौं, असार ९ गते ।


साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को आयोजनामा एसइइ पास विद्यार्थीबीचको दुईदिने थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा ५० टिमले प्रतिस्पर्धा गर्नेछन्।

आयोजक क्याम्पस चिफ डा. राजेन्द्र केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार ब्वाइज तर्फ ३२ र गल्र्स तर्फ १८ टिम सहभागी हुनेछन्। ब्वाइज टिमलाई ८ समूहमा र गल्र्स टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट फर्म्याटमा खेल संचालन हुनेछ।

कार्यक्रम निर्देशक गणेश महराका अनुसार, प्रतियोगिताका ब्वाइज र गल्र्स विजेता टोलीले जनही १५ हजार नगद पुरस्कारका साथै एसडब्लुएससीमा प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन्। उपविजेता टोलीले १० हजार नगद पुरस्कारसहित छात्रवृत्तिको सुविधा पाउनेछन्।

विजेता टिमका प्रत्येक खेलाडी तथा प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ (MVP) ले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् भने उपविजेता टिमका खेलाडीलाई ४० प्रतिशत छात्रवृत्ति दिइनेछ। साथै, प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिइयो।

इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले प्रतियोगना सञ्चालनका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिइन्। प्रतियोगिता बसुन्धरास्थित एसडब्लुएससीकै कोर्टमा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्