क्योकुसिन करातेमा वडा २६ उत्कृष्ट, फुटसल उपाधि तार्केश्वरलाई



काठमाडौं, असार ८


काठमाडौं महानगरपालिका वडा २६ ले जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत क्योकुसिन कराते (आईकेयु) स्पर्धामा सर्वाधिक ३ स्वर्ण जित्दै उत्कृष्टता देखाएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न पुरुष मात्रको प्रतियोगितामा ५ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो। त्यसमा आयोजक वडा २६ का बालकृष्ण बुढा (२५ केजी), रिखीधन राई (४५ केजी) र धनबहादुर विक (खुला तौल) ले स्वर्ण जिते। बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले कैलाश राना मगर, र धनबहादुरले वडा २५ का गोविन्द बस्याललाई पराजित गरे।
अन्य दुई स्वर्णमध्ये क्योकुसिन बुदोका श्रृजन सुनुवारले ३५ केजीमा वडा १२ का समरबहादुर दमाईंलाई पराजित गर्दै र काठमाडौं वडा १२ का सुसान तामाङले ५५ केजीमा आफ्नै वडाका आशुतोष जैसवाललाई हराउँदै हात पारे।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।


फुटसल उपाधिमा तार्केश्वर नगरपालिकाको जित

बृहत खेलकुद अन्तर्गत भएको पुरुष फुटसल प्रतियोगितामा तार्केश्वर नगरपालिकाले उपाधि चुमेको छ।
लैनचौर खेलमैदानमा भएको फाइनल खेलमा तार्केश्वरले काठमाडौं महानगरपालिका वडा ५ लाई टाइब्रेकरमा ३–२ ले पराजित गर्‍यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा निर्णायक नतिजा आएको हो।
जितसँगै तार्केश्वरले १ लाख ५० हजार नगद पुरस्कार हात पार्यो भने उपविजेता वडा ५ ले ७५ हजार प्राप्त गर्‍यो।

व्यक्तिगत विधामा वडा ५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, नितेश महर्जन उत्कृष्ट गोलरक्षक बने भने वडा २६ का निराजन मल्ल सर्वाधिक गोलकर्ताका रूपमा उत्कृष्ट देखिए। तिनीहरू तीनैजनाले जनही १० हजार नगद पुरस्कार जिते।
१६ टिम सहभागी प्रतियोगिता नकआउट आधारमा सम्पन्न भएको थियो।


प्रतिस्पर्धामा पाँच खेल, पुरस्कार रकम झन्डै १२ लाख

जेठ ३१ गतेदेखि सुरु भएको जिल्लाव्यापी बृहत खेलकुदमा क्योकुसिन कराते र फुटसलसहित टेबलटेनिस, कराते र तेक्वान्दो गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो।
प्रत्येक खेलमा नगद पुरस्कार व्यवस्था गरिएको आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए।
प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ९० हजार रुपैयाँ रहेको थियो।

समापन समारोहमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी अर्याललगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्