
काठमाडौँ, असार ८
नेपालकी महिला रेस्लर भगवती खड्काले पाकिस्तानको कराँचीमा सम्पन्न आरइडब्लु (RIW) रेस्लिङ प्रतियोगितामा महिला सिंगल्स तर्फको उपाधि जितेकी छन्। युनिका उपनामले रेस्लिङ क्षेत्रमा परिचित भगवतीले उपाधि भिडन्तमा पाकिस्तानकी बेगिसालाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्।
भगवतीका अनुसार यो पाकिस्तानमा आयोजित पहिलो महिला रेस्लिङ प्रतियोगिता थियो। २०६९ सालदेखि रेस्लिङ खेल्दै आएकी उनले अहिलेसम्म स्वदेश र विदेशमा करिब ४० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गरिसकेकी छन्। तीमध्ये अधिकांश भिडन्तमा उनले सफलता हात पारेकी छिन्। भारत र जापानजस्ता मुलुकमा समेत उनी रेस्लिङका लागि पुगिसकेकी छन्।

उपाधि विजयी समारोहका अवसरमा कलाकारसमेत रहेकी भगवतीले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ बोलको देशभक्तिपूर्ण गीत गाएर दर्शकको मन जितेकी थिइन्।
उक्त रेस्लिङ प्रतियोगितामा पुरुष तर्फ चार भिडन्त पनि सम्पन्न भए, जसमा सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीहरूबीच सीमित थियो।
भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनमा समेत सूचीकृत भइसकेको छ। उनले नेतृत्व गरेको नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिकामा रहेको ५,६४४ मिटर उचाइको कालापत्थरमा रेस्लिङ आयोजना गरेपछि यस कीर्तिमानको आधारमा उनको नाम विश्व कीर्तिमानमा समावेश गरिएको हो।
गत जेठ १६ गते (मे २९), ‘एभरेष्ट डे’ को अवसरमा आयोजित उक्त विशेष प्रतियोगितामा उनले अमेरिकी महिला रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन्।
महिला रेस्लिङको क्षेत्रमा ऐतिहासिक योगदान दिँदै आएकी भगवतीले नेपाली महिलाहरूका लागि खेलकुदमा सम्भावनाका नयाँ ढोका खोल्न सफल भएकी छन्।





